लिपुलेक र इपिजीको विषयमा कुनै छलफल भएन : भारतिय विदेश सचिव

मूलखबर संवाददाता
काठमाडौं, ८ मंसिर

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा वहुचर्चित र बहुप्रतिक्षीत लिपुलेक र इपिजीको विषयमा कुनै छलफल नभएको भारतिय सचिवले खुलासा गरेका छन् ।

उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र लिपुलेककाे विषय विगतको विषय भइसकेकाले अब यसको सान्दर्भिकता नरहेको पनि बताए ।

ईपीजी दुई देशका ‘प्रबुद्ध समूह’ ले आठ वर्ष अघि तयार पारेको प्रतिवेदन हो । जुन दुई देशका सरकारहरूलाई हस्तान्तरण हुन सकेको छैन । सन् २०१६ मा नेपाल र भारत सम्बन्धका महत्त्वपूर्ण पक्षहरूबारे दुवै देशलाई सुझाव दिन प्रबुद्ध समूहको गठन भएको थियो ।

सन् १९५० को नेपाल भारत सन्धिसहित दुईपक्षीय विवादका विषयमा सहमति कायम गर्न कार्यरत समूहले आफ्नो प्रतिवेदन सन् २०१८ मा तयार गरेको थियो । शुरुमा प्रतिवेदन भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने भनिएको थियो ।

भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री शाह हिजो बेलुका स्वदेश फर्किएलगत्तै भारतीय विदेश मन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले लिपुलेकबारे छलफल नभएको तथा ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकिएको बताएका हुन्।

पत्रकार सम्मेलनमा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले लिपुलेक नाका हुँदै हुने भारत–चीन व्यापारप्रति नेपालको आपत्तिबारे प्रधानमन्त्री शाहले कुरा उठाउनुभयो या भएन भनेर प्रश्न गरेका थिए । यसको जवाफमा विदेश सचिव मिश्रीले लिपुलेकको विषयमा दुई पक्षबिच कुनै छलफल नभएको जवाफ दिए ।

विदेश सचिव मिश्रीले ईपीजी प्रतिवेदन विगतको विषय भइसकेको उल्लेख गरे । सीमा व्यवस्थापनका लागि दुई देशबिच बहुस्तरीय संयन्त्र रहेको जानकारी दिँदै मिश्रीले तल्लो तहमा फिल्ड सर्वेक्षण टोली, वरिष्ठ अधिकारीहरूको समिति र सीमा कार्यदल सक्रिय रहेको बताए ।