शेयर बजारमा सुखद संकेत, नेप्से दाेहाेराे अंकले वृद्धि

मूलखबर संवाददाता
काठमाडौं, ८ मंसिर

आज सेयर बजारमा सुखद संकेत देखिएकाे छ । नेप्से परिसुचचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १६५ वटा स्टक्सको मूल्य बढ्दा १११ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर बजारमा दोहोरो अंकको सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।