लमजुङको दुधपाेखरीमा प्रचण्ड, जनताले गरे भव्य स्वागत, सम्झिए पुराना दिन

मूलखबर संवाददाता
लमजुङ, ७ मंसिर

नेकपाका संयाेजक तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लमजुङको दुधपाेखरी पुगेका छन् । पार्टीका केन्द्रीय सल्लाहकार पुर्ण बहादुर गुरूङलाई श्रद्धाञ्जली दिन पुगेका प्रचण्डले पुराना दिनहरू सम्झँदै गुरूङ आफ्नो पनि अभिभावक जस्तै भएको बताए ।

कार्यक्रममा पुगेका नेता अमिक शेरचनसँगै आफुले पार्टीको सदस्यता लिएकाे उल्लेख गर्दै प्रचण्डले चितवनमा गुरूङसँग सहकार्य गरेकाे, करिब वृद्ध अवस्था हुँदा पनि गुरूङ पार्टीको हाेलटाइमर बनेकाे र आफू भुमिगत हुँदा गुरूङले आफ्नो परिवारकाे रेखदेख गरेकाे प्रसंग श्रद्धाञ्जली सम्वाेधनमा उल्लेख गरेका जिए ।

प्रचण्ड दुधपाेखरी पुग्दा स्थानिय जनता र पार्टी नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

गणतन्त्र सुदृढ गर्न दलहरूबीच एकता र सहकार्य आवश्यक : प्रचण्ड
प्रचण्डले संघीयता, समावेशिता र गणतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दलबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
सोमबार लमजुङको दूधपोखरी गाउँपालिका–३, सानो काँभ्रेमा स्वर्गीय पूर्णबहादुर गुरुङ (डाँफे) को स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा अन्य राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए ।
संयोजक प्रचण्डले विगतमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका र संविधानसभामा सहभागी भएका राजनीतिक दलहरूबीच सहकार्य गरेर अघि बढ्ने प्रयास भइरहेको उल्लेख गरे। प्रतिगमनतर्फ फर्काउने प्रयासलाई आगामी स्थानीय तहको निर्वाचनमार्फत रोक्नुपर्ने उनको भनाइ थियो ।
उहाँले स्थानीय तहको निर्वाचनमा मिलेर अघि बढ्ने विषयमा नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलसँग छलफल भइरहेको जानकारी दिए।
श्रद्धाञ्जली सभामा नेपाली कम्युनिष्ट पार्टीका सचिवालय सदस्य देवप्रसाद गुरुङ, अमिक शेरचन, देवेन्द्र पौडेल, हितराज पाण्डे, जिल्ला ईन्चार्ज रामबाबु अधिकारी, सह-इन्चार्ज मधु अधिकारी गुरुङ, जिल्ला संयोजक सुनिल सुनार लगायतका नेताहरूको उपस्थिति थियो ।