सकियाे एनपीएल ३: सुदूरपश्चिम रोयल्स बन्याे च्याम्पियन, उपविजेता बन्याे लुम्बिनी लायन्स

मूलखबर संवाददाता
काठमाडौं, ५ मंसिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सम्पन्न भएको छ। शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले पहिलोपटक एनपीएलको उपाधि जित्न सफल भएको छ।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको सुदूरपश्चिमले यसपटक भने उपाधि जित्ने सपना पूरा गरेको हो। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै सुदूरपश्चिम उपविजेतामा सीमित भएको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा सीमित गरेको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिक्वेलाले २८ तथा अली शेखले २४ रन बनाएका थिए। सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै १५८ रन बनाउँदै ऐतिहासिक जित दर्ता गर्‍यो। सुदूरपश्चिमको जितमा स्कटल्यान्डका ओपनर जर्ज मुन्से नायक बने। उनले मात्र ५४ बलमा अविजित १२५ रन बनाए। उनको विस्फोटक इनिङ्समा १२ छक्का र आठ चौका समावेश थिए। अर्का ओपनर विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए। मुन्से फाइनल खेलका प्लेयर अफ द म्याच घोषित भए।

यस संस्करणमा मुन्सेको १२५ रन एनपीएल इतिहासकै एक खेलमा बनेको सर्वाधिक व्यक्तिगत स्कोरसमेत बनेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दीपेन्द्रसिंह ऐरी घोषित भए भने सर्वाधिक रन बनाउने खेलाडीको ओरेन्ज क्याप आसिफ शेखले र सर्वाधिक विकेट लिने खेलाडीको गोल्डेन क्याप रिजन ढकालले प्राप्त गरे।

तेस्रो संस्करणमा सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाएको छ।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटमा दर्शकको आकर्षण, अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र घरेलु खेलाडीको क्षमता प्रदर्शनलाई थप उचाइ दिएको छ। लगातार दुईपटक उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रो प्रयासमा च्याम्पियन बनेर आफ्नो इतिहास रचेको छ।

पहिलो खेलमै लुम्बिनी लायन्ससँग पराजित हुँदै तेस्रो संस्करणको यात्रा सुरु गरेको सुदूरपश्चिमले अन्ततः फाइनलमा त्यही लुम्बिनीलाई हराएर उपाधि जित्यो । यससँगै लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ भने तेस्रो प्रयासमा च्याम्पियन बन्ने आफ्नो सपना पनि पूरा गरेको छ ।