राज्यमा अहिले विवेकहीन र अराजक निरंकुश प्रवृत्ति हाबी भएको छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २१ कात्तिक

नेकपा संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमा ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन्।

सम्वाद डबली काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरे ।

‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन र अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी छ अहिले।’ संयोजक प्रचण्डले भने, ‘तपाईंहरुले ध्यान दिनुभएको होला, सरकारको कामकारबाही हेर्दा त्यो हिन्दी जासुसी फिल्म हुँदै नभएको काम देखाउँछ नि त्यस्तै छ सरकारको काम कारबाही।’

उनले गणतन्त्र आएपछि शिक्षामा व्यापक सुधार भएको दृष्टान्त पेश गरेका थिए। उनले भ्रष्टाचार र सुशासनको पक्षमा चलाउँदा आफू नेतृत्वको सरकारलाई अपदस्त हुनुपरेको बताए। उनले नेपालमा भ्रष्टाचारी र बिचौलिया बलिया रहेको आरोप लगाए। उनले भने,‘हामीभन्दा, भ्रष्टाचारको विरुद्ध लड्नेभन्दा भ्रष्टाचारी बलिया रहेछन् नेपालमा । बिचौलिया बलिया रहेछन् नेपालमा। हामीले हार्‍यौं, तिनिहरुले जिते।’