शुरू भयाे तिहार : आज कागकाे पुजा गर्ने दिन
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।





