अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक सफलता, दुवै सदनमा बहुमत

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न सन् २०२६ को मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई ठूलो धक्का लागेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभामा बहुमत हासिल गर्दै उल्लेखनीय राजनीतिक सफलता प्राप्त गरेको छ।

निर्वाचन परिणामअनुसार डेमोक्रेटिक पार्टीले सिनेटमा कम्तीमा ५४ सिट जितेको छ भने रिपब्लिकन पार्टीले ४४ सिटमा विजय हासिल गरेको छ। केही स्थानको मतगणना अझै जारी रहेकाले अन्तिम परिणाममा परिवर्तन हुन सक्ने बतााइएकाे छ। प्रतिनिधिसभामा पनि डेमोक्रेटिक पार्टीले २५३ सिट जित्दा रिपब्लिकन पार्टी १५५ सिटमा सीमित भएको छ। बाँकी केही निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ।

यस निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको महत्वपूर्ण राजनीतिक जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो। निर्वाचन परिणामले ट्रम्प प्रशासनका नीति तथा कार्यशैलीप्रति मतदाताको असन्तुष्टि प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ।

विशेषगरी महँगी, जीवनयापनको बढ्दो लागत, आर्थिक अवस्था, भ्रष्टाचारसम्बन्धी चिन्ता तथा अन्तर्राष्ट्रिय द्वन्द्वका विषय मतदाताका लागि महत्वपूर्ण बनेका थिए। परम्परागत रूपमा रिपब्लिकन पार्टीको प्रभाव रहेका टेक्सास, कन्सास, आयोवा र अन्य राज्यमा समेत डेमोक्रेटिक उम्मेदवारले सफलता हासिल गरेका छन्।

सिनेटमा टेक्सासबाट जेम्स तालारिको, कन्सासबाट एडम ह्यामिल्टन, आयोवाबाट जोस टुरेक र मेनबाट ट्रोय ज्याक्सनलगायत डेमोक्रेटिक उम्मेदवारको विजयलाई विशेष महत्वका साथ हेरिएको छ। टेक्सासमा ३८ वर्षपछि रिपब्लिकन पार्टीको पकड तोड्दै डेमोक्रेटिक उम्मेदवार विजयी हुनु निर्वाचनको उल्लेखनीय परिणाममध्ये एक हो।

निर्वाचन परिणामसँगै आगामी दुई वर्ष अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलन कायम हुने देखिएको छ। संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएपछि राष्ट्रपति ट्रम्पले अघि सारेका विधेयक, प्रशासनिक नियुक्ति तथा सरकारी नीतिहरूमा विपक्षी दलले प्रभावकारी निगरानी र अवरोध गर्न सक्नेछ। डेमोक्रेटिक पार्टीका नेता हाकिम जेफ्रिज प्रतिनिधिसभाको सभामुख बन्ने सम्भावना पनि बढेको छ। यद्यपि सभामुख चयनका लागि नयाँ प्रतिनिधिसभामा औपचारिक निर्वाचन हुनुपर्नेछ।

यस परिणामलाई अमेरिकी राजनीतिक इतिहासमा रिपब्लिकन पार्टीका लागि ठूलो चुनौती र डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण पुनरागमनका रूपमा हेरिएको छ। -एजेन्सीकाे सहयाेगमा