चक्रवातले आजबाट वर्षा शुरू, हिमआँधी र हिमपहिराेकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

मूलखबर संवाददाता
काठमाडौं, १२ कात्तिक

बंगालकाे खाडीमा विकास भई भारतमा उत्पात मच्चाएकाे चक्रवात अर्नबको असरले आज (बिहीबार)देखि शनिबारसम्म नेपालमा वर्षा र हिमपात हुने भएको छ । बिहीबार राति प्रभाव बढेर शुक्रबार र शनिबार भने देशका धेरै ठाउँमा पानी पर्ने तथा केही ठाउँमा ठुलो वर्षा हुने आकलन नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा बनेको अर्नब चक्रवात भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान करिब ८:१५ बजे जमिनमा प्रवेश गरिसकेको छ । चक्रवात आफैँमा कमजोर हुँदै गए पनि त्यसले बोकेर ल्याएको शक्ति (जलवाष्पयुक्त हावा) उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । बिहीबार बिहानसम्म न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ ।

महाशाखाले चक्रवातको प्रभावले बुधबारदेखि बादल लाग्न थाले पनि बिहीबारदेखि असर बढ्ने बताएकाे छ । वर्षा बिहीबारदेखि नै सुरु हुने देखिन्छ । तर, शुक्रबार र शनिबार देशभर नै वर्षाको सम्भावना छ । केही ठाउँमा भारी वर्षा पनि हुन सक्छ ।  यो प्रणालीले विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा अलि जोखिम छ । त्यहाँ विपत् निम्तिन सक्छ । समग्रमा धानबाली र पर्यटन क्षेत्र प्रभावित हुने देखिन्छ ।

महाशाखाले बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिमआँधी र हिमपहिरोको जोखिम
चक्रवातको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहने महाशाखाले चेतावनी दिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकालाई मौसम प्रतिकूल रहने अवधिमा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । यसबाट सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न अनुरोध गरिएको छ ।