तनहुँका विकास आयाेजनाहरूलाई ७१८ हेक्टर बन उपयाेग गर्ने अनुमति
तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन् । जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्ट तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त वन क्षेत्र प्रयोग गर्न दिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न विकास आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिइएको छ । तीमध्ये तनहुँ जलविद्युत् आयोजना, ४०० केभी विद्युत् प्रसारण लाइन, तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन तथा विभिन्न अन्य प्रसारण लाइन आयोजनाले उल्लेख्य वन क्षेत्र प्रयोग गरेका छन् ।
वन क्षेत्र प्रयोग गर्न अनुमति दिँदा सम्बन्धित आयोजना तथा निकायले प्रचलित व्यवस्था र सर्तअनुसार राजस्व बुझाउने, जग्गा सट्टाभर्ना गर्ने तथा क्षतिपूर्ति स्वरुप वृक्षारोपण गर्नुपर्ने व्यवस्था छ ।
आयोजनाअनुसार वन क्षेत्र प्रयोगको अवस्था पनि फरक–फरक रहेको छ । केही आयोजनाले जग्गा सट्टाभर्ना गरी क्षतिपूर्तिस्वरुप वृक्षारोपण गरिरहेका छन् भने केहीले वार्षिक कबुलियती दस्तुर तथा राजस्व बुझाउँदै आएका छन् । कतिपय आयोजनामा रुख छपान तथा कटानको काम भइरहेको रानाभाटले बताउनुभयो।
तनहुँ जलविद्युत् आयोजनालाई सबैभन्दा धेरै वन क्षेत्र
तनहुँ जलविद्युत् आयोजनाका लागि ४१७ दशमलव ३४ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । जिल्लामा विकास आयोजनाका लागि प्रयोग गर्न दिइएको वन क्षेत्रमध्ये यो सबैभन्दा ठूलो हिस्सा हो ।
त्यस्तै, ४०० केभी विद्युत् प्रसारण लाइन योजनाअन्तर्गत एमसिए नेपाललाई १४२ दशमलव ६६ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन आयोजनालाई ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको मध्यमस्र्याङ्दी–डुम्रे–दमौली १३२ केभी प्रसारण लाइन आयोजनाका लागि १४ दशमलव ८५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । उक्त आयोजनाले वार्षिक रूपमा राजस्व बुझाउँदै आएको रानाभाटले जानकारी दिनुभयो ।
मस्र्याङ्दी करिडोरअन्तर्गत उदीपुर–न्यू भरतपुर २२० केभी विद्युत् प्रसारण लाइन आयोजनाका लागि १७ दशमलव ७५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । उक्त आयोजनामा रुख छपान तथा कटानको काम सम्पन्न गरी समूहमा हस्तान्तरण गरिएको जनाइएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको केरावारी–न्यु मस्र्याङ्दी (दरौदी करिडोर) १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाका लागि शून्य दशमलव आठ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । उक्त आयोजनामा वन तथा भूसंरक्षण विभागसँग सम्झौता भई रूख छपानको काम जारी रहेको छ ।





