अर्नब चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला बढी प्रभावित हुने

मूलखबर संवाददाता
काठमाडौं, ११

अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको कारण लुम्बिनी, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

यी जिल्लामा भारी वर्षा,चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको हो ।

आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर कात्तिक १३ र १४ गते बढी प्रभावित हुन सक्ने अनुमान समेत गरेको छ । नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले उक्त सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । यसबाट नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ ।