नेकपाको जागरण अभियानमा गरिने १० काम के-के हुन् ?
नेपाली कम्युनिस्ट पार्टीले कात्तिक ७ गतेबाट राष्ट्रिय जागरण अभियान थालेकाे छ । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवाल सम्बोधन तथा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका लागि ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने उसले सार्वजनिक गरिसकेको छ ।
पार्टीकाे केन्द्रीय सचिवालय बैठकले कात्तिक र मंसिर महिनामा राष्ट्रिय राजनीतिक तथा संगठनात्मक विशेष अभियानका रूपमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानको उद्घाटन कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलनसहित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिसकेकाे छ । । अभियान मंसिर २५ गते सम्पन्न हुने बताइएको छ ।
जागरण अभियानमा गरिने १० प्रमुख काम
पार्टीले अभियानअन्तर्गत निम्न १० वटा काम सञ्चालन गर्ने कुरा अपानिमा जनाएको छ ।
१. पार्टी तथा जनवर्गीय संगठनको समायोजन: पार्टीका विभिन्न समिति, जनवर्गीय संगठन र मोर्चाहरूको समायोजनसम्बन्धी बाँकी काम पूरा गरिनेछ ।
२. सदस्यता नवीकरण र विस्तार: संगठित सदस्यता नवीकरण तथा नयाँ सदस्य थप्ने अभियानलाई तीव्रता दिइनेछ ।
३. बैठक, भेला र प्रशिक्षण: पार्टीका बैठक, भेला, प्रशिक्षणलगायत संगठनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
४. जनतासँगको सम्बन्ध सुदृढीकरण: जनकेन्द्रित विभिन्न कार्यक्रममार्फत जनता र पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ बनाइनेछ ।
५. सांस्कृतिक तथा रचनात्मक कार्यक्रम: सांस्कृतिकलगायत रचनात्मक गतिविधि सञ्चालन गरी जनचेतना अभिवृद्धि गरिनेछ ।
६. जनताका माग र समस्या संकलन: जनताका माग तथा दैनिक जनजीविकासँग सम्बन्धित समस्या संकलन गरी सम्बन्धित निकायमा पेस गरिनेछ । ती समस्या समाधानका लागि पहलसमेत गरिनेछ ।
७. श्रम तथा जनसेवाका कार्यक्रम: श्रम र जनसेवासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
८. विपद् प्रभावितलाई सहयोग: विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गरिनेछ ।
९. राष्ट्रिय तथा जनजीविकाका सवालमा जनचेतना: राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१०. जनताका समस्या समाधानका लागि दबाब: महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ । केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गरिनेछ ।
राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने लक्ष्य
नेपाली कम्युनिस्ट पार्टीले यो अभियानलाई संगठनात्मक एकता र सुदृढीकरणसँगै जनताका दैनिक समस्यासँग जोड्ने लक्ष्य लिएको छ । राष्ट्रिय स्वाधीनता, जनअधिकार, सुशासन र जनजीविकाका सवालमा जनतालाई जागरुक बनाउने तथा सरकारका जनविरोधी गतिविधिविरुद्ध आन्दोलनको तयारी गर्ने अभियानको अर्को उद्देश्य रहेको छ ।
अभियानले पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने यसको कार्यान्वयन, जनसहभागिता र उठाइएका माग सम्बोधनका लागि गरिने पहलमा निर्भर रहनेछ ।
स्थानीय आवश्यकताअनुसार अभियान सञ्चालन गरिने
पार्टीका अनुसार जागरण अभियानका कार्यक्रम स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता तथा सम्बन्धित तहका निर्णयअनुसार लचिलो ढंगले सञ्चालन गरिनेछ । अभियानलाई केन्द्रदेखि स्थानीय समितिसम्म एकीकृत रूपमा पार्टीपंक्ति परिचालित हुने गरी अघि बढाइनेछ ।
अभियान सफल बनाउन सबै कमरेडहरूले प्राथमिकताका साथ सक्रिय भूमिका निर्वाह गर्न पार्टीले आग्रह गरेको छ । संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र स्थानीय समस्याको पहिचान तथा समाधानका लागि अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने पार्टीको योजना छ ।





