जनताकाे सुचनाले बचायाे हजारौंको ज्यान, सरकारी संयन्त्र ढीला

मूलखबर संवाददाता
काठमाडौं

गाेरखाकाे बुढीगण्डकी नदिमा आएकाे आकस्मिक बाढीले अरबाैंकाे धनमाल र भाैतिक सम्पत्ति नष्ट गरेपनि नागरिकको ज्यान भने जाेगिएकाे छ ।

नागरिकको ज्यान जाेगाउन सरकारी सुचना र संयन्त्र भन्दा जनताकाे स्थानिय सुचनाले काम गरेको हाे । बुढीगण्डकी नदिमा बाढी पुर्व सुचना प्रणाली आरूघाटभन्दा माथी छैन र बाढीकाे सुचना सरकारी संयन्त्रले पनि जनताबाटै पाएकाे देखिन्छ ।

गोरखाको सिर्दिबासस्थित जगत बगरको होटलमा बास बसेका चालक सुना गुरुङले आइतबार बिहान ४:५९ बजे फेसबुकमा स्टाटस लेखे, ‘लो है, आज सबैजना तलतिरका मान्छेहरू सतर्क भएर बस्नू, बाढी आयो है बुढीगण्डकीमा ।’

मस्त निद्रामा रहेका उनलाई बिहान ४:४५ आसपास मोबाइलमा बजेको घन्टीले ब्युँझाएको थियो । सिर्दिबास बजारभन्दा माथि घट्टेखोलाबाट एक परिचितले फोन गरेर उनलाई भनेका थिए, ‘पहिरोले थुनिएको नदीमा भोटेकोशीमा जस्तै बाढी आएको छ । चाँडो भाग्नू ।’

होटलबाट निस्केर हेर्दा छेउमै ठूलो आवाजसहित बाढी आइपुगेको गुरुङले देखे । ‘मनास्लु हिँडेका पर्यटक छोड्न गएको थिएँ । पौने ४ बजेतिर बाढीको खबर आउँदा सुरुमा त पत्याइनँ,’ उनले कान्तिपुरलाई भने, ‘भोटेकोशीको जस्तै बाढी भनेपछि हतारहतार बाहिर निस्किएँ । म निस्किएको १० मिनेट जतिमै नदी उर्लिएर आयो । अँध्यारै थियो । हल्लाखल्ला गर्दै सबैलाई उठाएर जंगलतर्फ भाग्यौं ।’

गुरुङले भन्दा सात मिनेटअगाडि जगतका विशाल घलेले ‘आरुघाटवासी सबै भाग्नुहोला’ भन्ने स्टाटस लेखेका थिए । त्यसमा अरू विवरण थिएन । उनले आरुघाटतर्फका बासिन्दालाई सुरक्षित स्थलमा भाग्न आग्रह गर्दै ३५ सेकेन्डको भिडियो ५:२४ मा फेसबुकमा पोस्ट गरे । त्यसमा उनी भीर हुँदै भाग्दै गरेको देखिन्छ । सिर्दिबासका गणेश कार्कीले बाढीका कारण स्थानीयको भागदौड भएको भिडियो खिचेर ५:०६ बजे फेसबुकमा राखेका थिए ।

बुढीगण्डकी तटीय क्षेत्रमा पर्ने गोरखा आरुघाट प्रहरीले साढे ५ बजे बाढीको सूचना फेसबुकमार्फत प्रवाह गर्‍यो । सरकारी निकायबाट जारी भएको बाढीको पहिलो सूचना यही थियो । बाढीले जगतका घर, गाडी बगाएको भिडियो ५:५२ बजे चालक गुरुङले सामाजिक सञ्जालमा राखे । बाढी पूर्वानुमान महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने ६ बजे मात्र बाढीको सूचना प्राप्त गरे । महाशाखाले बाढीबाट सुरक्षित रहन आग्रह गरिएको एसएमएस ६:४० बजे जोखिम क्षेत्रका बासिन्दाको मोबाइलमा पठायो । ‘हामी भागेर जंगल पुगेको एक घण्टा जतिपछि बुढीगण्डकीमा बाढी आएको छ, सुरक्षित रहनुहोला भन्ने मेसेज मोबाइलमा आयो,’ गुरुङले भने ।

महाशाखाले बाढीपछि २ लाख एसएमएस पठाइएको जनाएको छ । बाढीको सूचना प्रवाहमा एकदेखि डेढ घण्टासम्म ढिला भएको महाशाखाका उपनिर्देशक तथा प्रवक्ता राजन भट्टराईले स्वीकार गरे । ‘बाढी साढे ४ बजेतिर नै सुरु भएको देखिन्छ । साढे ६ बजेदेखि ६:४० मिनेटसम्म हामीले माथिल्लो क्षेत्रका बासिन्दालाई एसएमएस गर्‍यौं । तल्लो क्षेत्रका बासिन्दालाई ९ बजेदेखि मेसेज पठायौं,’ उनले भने ।