भाेटेकाेशी बाढीपछिकाे खाेज तथा उद्दार कार्य स्थगित गर्ने सरकारी निर्णय

मूलखबर संवाददाता
काठमाडौं

भाेटेकाेशीमा बाढी आएकाे आज १ महिना ९ दिन भएको छ । गत भदौ १० गते लाङटाङ हिमालमा भएको हिमाल पहिराे तथा हिमताल विष्फाेटका कारण रसुवाको भाेटेकाेशीमा आएकाे बाढीका कारण तटिय क्षेत्रका सम्पुर्ण भाैतिक संरचना बगाउनुका साथै हजारौं नागरिकको ज्यान लिएकाे थियाे ।

आज सरकारले अत्यावश्यकबाहेक भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापना तीव्र रुपमा अगाडि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्था समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो ।

यसैगरी, बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।