नेकपा कार्यसंयाेजन समिति बैठक : वाम एकताका लागि वार्ता समिति गठन, महाधिवेशनबारे माैन

मूलखबर संवाददाता
काठमाडौं, ७ असाेज

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले वाम एकताका लागि वार्ता समिति गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले यश अघि मंसिरमा गर्ने भनिएको महाधिवेशनबारे आगामी सचिवालय बैठकमा निर्णय गर्ने निर्णय गरेको छ ।

बैठकले गरेका पाँच निर्णयमा वाम एकताका लागि वार्ता समिति गठन गर्ने विषय पनि उल्लेख छ ।

बैठकले नेकपासँग वैचारिक, सांगठनिक र कार्यक्रमिक सपरूपता भएका विभिन्न वाम राजनीतिक दल तथा घटकहरूसँग पार्टी एकताका लागि पहल र वार्ता गर्ने निर्णय गरेको हो ।

जसको संयोजकमा देव गुरुङ, सदस्यमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ राखिएको छ ।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले समसायिक राजनीतिक कार्यभार तथा पार्टीका पछिल्ला गतिविधिबारे धारणा राखेका थिए ।

बैठकले पार्टी र जनवर्गीय संगठनहरूको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण एवं पार्टी संगठन सुदृढीकरणका लागि दुई महिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

महाधिवेशन तथा अधिवेशनको विषयमा पार्टी सचिवालय बैठकले छलफल गरी आवश्यक निर्णय गर्ने अर्को निर्णयमा उल्लेख छ ।

बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सिङ्गो पार्टी पङ्ति परिचालित गर्दै पार्टीका तर्फबाट प्रभावकारी पहल गर्ने अर्को निर्णय गरेको छ ।