असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदकाे आग्रह

मूलखबर संवाददाता
काठमाडौं, ५ असाेज

नेपालमा असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातिर सर्ने देखिएको र यसले ल्याउनसक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह छ ।

असोज ८ देखि १२ सम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाडीबाट विकसित प्रणालीको प्रभाव बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसग त्यसको अन्तरक्रिया हुने सम्भावना देखिन्छ । यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिादा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ । विशेषगरी दुई प्रणालीबीचको अन्तरक्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ्न सक्छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार अन्डमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाडीमा मौसमीय गतिविधि बढ्ने र त्यसबाट नेपालतर्फ मनसुनी आद्रता भित्रिने सम्भावना देखिएको छ ।

मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ । त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउँछन् ।

‘मैले धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना बढी देखिन्छ,’ उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने छ, ७४१ मिलिमिटरसम्म देखाएको छ, यो भनेको एकदम धेरै हो र यसले ल्याउन सक्ने अवस्था

गम्भीर हुन सक्छ ।’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछाने न्यूनचापीय प्रणाली विकास भइरहेको अवस्था भए पनि अहिले नै नेपालमा कति मिलिमिटरसम्मको भारी वर्षा हुन्छ भनेर यकिनसाथ भन्न सकिने अवस्था नरहेको बताएका छन् ।