पाकिस्तानी राजदूत खानद्वारा बाढी प्रभावित पत्रकारप्रति सहानुभूति प्रकट
नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय समाचार समिति (रासस) परिवारसहित बाढी प्रभावित पत्रकार कालिका खड्कालाई भेटी सहानुभूति प्रकट गर्नुभएको छ ।
आज भद्रकालीस्थित राससको केन्द्रीय कार्यालय आउनु भइ राजदूत खानले राससकर्मी खड्काका श्रीमान् एवं पत्रकार टेकराज थामी भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बाढीबाट नेपाल, रासस र पत्रकार खड्काको परिवार पीडामा रहेको छ, यस विषम परिस्थितिमा धैर्य, संयमता अपनाउन आग्रह गर्दछु ।”
पत्रकार थामी बेपत्ता भएकाप्रति राजदूत खानले दुःख प्रकट गर्नुभयो । उहाँले खड्काको पारिवारिक स्थितिबारे जानकारी लिँदै आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । सो क्रममा राजदूत खानले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक एवं पारिवारिक सम्बन्ध रहँदै आएको बताउँदै शैक्षिक क्षेत्रमा समेत सम्बन्ध प्रगाढ रहेको सुनाउनुभयो ।
पाकिस्तानमा नेपालका धेरै युवाले छात्रवृत्ति पाउँदै आएको जानकारी दिँदै राजदूत खानले खड्काको छोरीलाई शैक्षिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “म नेपाली परिवारको सदस्य हुँ जस्तै लाग्छ”, राजदूत खानले खड्काप्रति सहानुभति प्रकट गर्दै भन्नुभयो, “आवश्यकता परेको खण्डमा तपाईंको छोरीको शिक्षामा सहयोग गर्छौैँ ।”



