भाेटेकाेशी बाढी : हाेल्डिङ सेन्टरमा बालबालिका, १०२ आमाबाबुविहिन, २१ शारीरिक अपांग
भदौ १० गते विहान आएकाे रसुवा भाेटेकाेशी बाढीबाट करिब १४ सय नागरिकको ज्यान गइसकेको पुष्टि भएको छ भने करिब ५ हजारकाे अवस्था अझै अज्ञात छ ।
भोटेकोशी-त्रिशूली बाढीले १०२ जना बालबालिकालाई आमाबुबाविहीन बनाएको छ।
राष्ट्रिय बाल अधिकार परिषदले गरेको द्रुत लेखाजोखा (र्यापिड असेसमेन्ट) अनुसार बाढी प्रभावित क्षेत्रका ४९ बालिका र ५३ बालकले आमाबुबा दुवै गुमाएका छन्।
परिषदले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनका ३० वटा होल्डिङ सेन्टरमा भदौ १५ देखि १९ गतेसम्म गरेको स्थलगत अध्ययनका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
अध्ययनको अन्तिम प्रतिवेदन भदौ २२ गते बुझाइएको थियो।
बालबालिकाको अवस्था बुझ्न परिषदका सूचना अधिकारी रामबहादुर चन्दको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरिएको थियो। टोलीमा परिषदसहित सेभ द चिल्ड्रेन, युनिसेफ, सिविन नेपाल, कन्सोर्टियम नेपाल र युथ एलाइन्स फर इन्भायरोमेन्टका प्रतिनिधि सहभागी थिए।
अध्ययन अनुसार ३० वटा होल्डिङ सेन्टरमा १ हजार २ सय ३३ बालबालिका आश्रित छन्। तीमध्ये ६३२ बालिका र ६०१ बालक छन्।
आमाबुबा दुवै गुमाएका १०२ बाहेक ४३९ बालबालिका आमाबुबाबाट बिछोडिएका वा छुट्टिएर बसेका छन्। ६९२ बालबालिका भने अभिभावकसँगै बसिरहेका छन्।
अध्ययन अनुसार होल्डिङ सेन्टरमा रहेका बालबालिकामध्ये २१ जना शारीरिक अपांगता भएका छन्।
तस्बिर साभार : काठमाडौंपाेष्ट



