बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न विज्ञ समिति बनाउने निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २९ भदौ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढाएको छ। बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ।

प्रवक्ता मोहनकुमार शाक्यका अनुसार अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्दै छ। भोटेकोशी बाढीलाई सामान्य बाढी वा अतिवृष्टिको रूपमा मात्र नभई ‘शृंखलाबद्ध विपत्’का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता शाक्यले बताए।

आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपत् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक आधार पुनर्निर्माण आवश्यक रहेको निष्कर्ष आयोगको छ।

मन्त्रालयकाअनुसार तीन चरणमा अध्ययन हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाब र बाढीबिचको अन्तरसम्बन्ध अध्ययन गरिनेछ।

दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले यी जोखिमहरूको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक रूपमा मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विज्ञ समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिने कार्यादेश बनाएको छ।