भोटेकोशी बाढी प्रभावितहरूलाई मासिक १५ हजार रुपैयाँका दरले राहत दिने
सरकारले भदौ १० को भोटेकोशी बाढी प्रभावितहरूलाई मासिक १५ हजार रुपैयाँका दरले राहत दिने भएको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी ७ हजार ५ सय ७० वटा निजी घरहरूमा क्षति पुगेकोले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो।
‘चार जनासम्म भएको परिवारलाई मासिक १५ हजार रुपैयाँका दरले रकम दिने निर्णय भएको छ, परिवारमा ४ जनाभन्दा धेरै संख्या भए त्यसमा २ हजार थप गरेर दिइनेछ,’ मन्त्रिपरिषद बैठकका निर्णय जानकारी दिँदै एक मन्त्रीले सेतोपाटीसँग भने।
बाढीबाट ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, ७ वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बजेट आवश्यक छ।
सरकारले भोटेकोशी बाढी पीडितलाई दसैंअघि नै अस्थायी घर बनाउने तयारीसमेत गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ।



