सरकार भन्छ- ग्याँस छ, उपभाेक्ता भन्छन् -पाइएन, कहाँ गयाे ग्याँस ?
सरकारले काठमाडाैंमा पर्याप्त ग्याँस भएकाे दावी गरिरहँदा उपभाेक्ता भने ग्याँस नपाएर हाम पालेर मर्ने अवस्थामा पुगेकाे बताएका छन् ।पछिल्ला दिनमा काठमाडौंका ग्यास डिपोअगाडि बिहानैदेखि खाली सिलिन्डरको लाइन लाग्न थालेको छ । कोही हातमा सिलिन्डर बोकेर घण्टौं पालो कुरिरहेका देखिन्छन् त कोही नाम टिपाएर फर्किएका भेटिन्छन् । कोही भने कुपन लिएर आफ्नो पालो पर्खिरहेका हुन्छन् । दिनहुँ डिपो धाउँदा पनि ग्यास नपाउने उपभोक्ताको संख्या पनि उत्तिकै छ ।
कृष्णभीरको पहिरोपछि मुख्य राजमार्ग बन्द हुँदा ग्यासको आपूर्ति प्रणालीमा दबाब परेको व्यवसायीहरूले बताउँदै आएका छन् । काठमाडौं जोड्ने मुख्य मार्ग अवरुद्ध भएपछि निगमले तराईका विभिन्न जिल्लामा रहेका ग्यास उद्योगमा काठमाडौं, धादिङ र काभ्रेका उद्योगका सिलिन्डर रिफिल गराएर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरेको छ । उद्योगी आफैंले रिफिल गरेर ग्यास आपूर्ति गरिरहेको जनाएका छन् ।
अभावमा भौंतारिरहेका उपभोक्ता र सरकारी तथ्यांकबीच भने विरोधाभास देखिन्छ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो गएर मुख्य सडक अवरुद्ध भएपछि पनि वैकल्पिक बाटोबाट ग्यास काठमाडौं ल्याइएको नेपाल आयल निगमको भनाइ छ । १८ भदौदेखि २० सम्म मात्रै ८७ हजार सिलिन्डर काठमाडौं भित्रिएको निगमको तथ्यांक छ । अहिले पनि दिनको ३५ देखि ४० हजार ग्यास काठमाडौं भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
निगमले ठूलो परिमाणमा ग्यास ल्याएको तथ्यांक देखाएको छ । उद्योगीहरू सडक र ढुवानीको समस्या देखाइरहेका छन् । डिलरहरू उद्योगबाट पर्याप्त ग्यास नआएको गुनासो गरिरहेका छन् । उपभोक्ता भने डिपोमा पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ पाइरहेका छन् । त्यसमाथि बजारमा ग्यास लुकाइएको, पहुँचका आधारमा बिक्री गरिएको गुनासो बढिरहेको छ ।
कतिपय ठाउँमा बढी रकम असुलिएको गुनासो र उद्योगीहरूले ग्यास नल्याएको, लुकाएको भन्दै उपभोक्ताहरूले गुनासो गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भने ग्यास अभावमा उद्योगीलाई नै जवाफदेही बनाउनुपर्ने बताएकी छन् ।
घरमा खाना पकाउने ग्यास सकिन लाग्दा उनीहरूको एउटै चिन्ता छ– अब ग्यास कहाँबाट ल्याउने ? कीर्तिपुरकी शर्मिला बस्नेतले एसटीसी ग्यास नपाएको एक साता भइसक्यो । उनले डिपोमा नाम टिपाएको पनि सात दिन पुग्यो । त्यसयता उनी हरेक दिनजसो डिपो पुग्छिन् र पालो आयो कि आएन भनेर बुझ्छिन् । तर हरेक दिन पाउने जवाफ एउटै हुन्छ– ‘ग्यास आएको छैन ।’
सञ्चारमाध्यममा ग्यास काठमाडौं आइरहेको, वैकल्पिक बाटोबाट आपूर्ति भइरहेको र अभाव नहुने समाचार सुने पनि ग्यास पाउन नसकेको बस्नेतको भनाइ छ । अहिले घरमा अर्को कम्पनीको ग्यास भएकाले जसोतसो भान्सा चलेको छ । तर त्यो पनि सकिएपछि के गर्ने भन्ने चिन्ता उनलाई छ । ‘अहिले नेपाल ग्यास चलाइरहेकी छु । यो पनि सकियो भने के गरेर खाने ? ग्यास पाउने टुंगो छैन,’ उनले भनिन् ।
काठमाडौं अनामनगरका सीताराम पराजुलीको समस्या पनि उस्तै छ । उनले ग्यास खोज्न थालेको १० दिन भइसक्यो । आफूलाई पायक पर्ने डिपोमा मात्र होइन, अन्य डिपो र पसलमा समेत बुझ्दा ग्यास पाउन नसकेको उनको भनाइ छ । ‘ग्यास खोज्दाखोज्दै मेरो दिन जान्छ,’ उनले भने, ‘साथीभाइ, डिपो, पसल सबैतिर खोज्दा पनि पाइएको छैन ।’
बस्नेत र पराजुली काठमाडौंमा ग्यास खोज्दै हिँडिरहेका दुई प्रतिनिधि पात्र हुन् । उनीहरूजस्तै हजारौं उपभोक्ता खाली सिलिन्डर बोकेर डिपो धाइरहेका छन् । कतिपयले पालोका लागि नाम टिपाएका छन्, कतिपयले कुपन लिएका छन् । तर ग्यास कहिले पाइन्छ भन्ने निश्चित जानकारी उनीहरूले पाएका छैनन् ।



