रसुवा बाढीबाट ५५ वटा खानेपानी आयोजना प्रभावित, ६४ करोड रुपैयाँ बराबरको क्षति

मूलखबर संवाददाता
काठमाडौं, २१ भदाै

भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।

बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार झण्डै ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ ।

ती आयोजनामा मात्रै चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ ।

विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठवटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने भैरहेको छ ।

बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको जनाएको छ । प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठको भनाइ छ ।

बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ ।