पृथ्बी राजमार्ग अझै अवरुद्ध, लेदो पन्छाउन बाँकी
काठमाडौं-मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्बी राजमार्ग अझै अवरुद्ध छ ।
ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार पृथ्बी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी छ ।
उनका अनुसार गजुरी गाउँपालिका-५ को गलौदी र बाहुनी भिरमा लेदोका कारण समय रहेको छ । यसैगरी गल्छी गाउँपालिकाको महेश दोभान भन्ने स्थानमा लेदो पन्छाउन बाँकी रहेको उनले बताए ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्बी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध छ । लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउन काम भइरहेको उनले बताए ।
सडकमा लेदो थुप्रिएको ठाउँमा बस्तीहरू छन् । जसका कारण त्यहाँ जमेका लेदो उठाएर अन्यत्रै लगेर फाल्नु परेकोले ढिलाइ भएको हो ।
उनका अनुसार गजुरी गाउँपालिका-५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन । यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने उनले बताए ।



