अब भिसाकाे लागि लाइन लाग्नु नपर्ने, यस्तो छ तयारी
नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनुनपर्ने भएको छ । नेपाल आउनुअघि नै अनलाइनमार्फत इ–भिसा लिन सक्ने गरी तयारी पूरा भएको छ ।
तीन वर्ष लामो परीक्षण र गृहकार्यपछि अध्यागमन विभागले १५ भदौदेखि इ–भिसा लागू गर्न लागेको हो । यसको कार्यान्वयनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भइसकेको विभागका निमित्त महानिर्देशक रहेका टीकाराम ढकालले बताए । ‘इ–भिसाका लागि सबै तयारी पूरा भइसकेको छ, १५ भदौदेखि लागू गर्ने हाम्रो तयारी छ,’ उनले भने, ‘यससम्बन्धी कानुन संशोधन गर्न पनि गृह मन्त्रालयमा प्रस्ताव पुगिसकेको छ ।’ हालको अध्यागमन नियमावलीमा इ–भिसासम्बन्धी प्रस्ट प्रावधान नभएकाले मन्त्रिपरिषद्बाट नियमावली संशोधन गर्न लागिएको छ ।
इ–भिसाको प्रणाली सुरु भएपछि विदेशी नागरिकको पासपोर्टमा भिसा स्टिकर टाँस्नुनपर्ने विभागले जनाएको छ । नेपाल आउने पर्यटकले आफू भएकै स्थानबाट अनलाइनमार्फत भुक्तानी गरी स्वीकृत भएपछि भिसा प्रिन्ट गर्न सक्नेछन् । नेपाल आएपछि अध्यागमन अधिकारीले त्यसलाई सक्कली भए–नभएको जाँच गरी आगमनको छाप लगाइदिनेछन् । ‘यसले अध्यागमनमा हुने भिडभाड पनि कम हुनेछ,’ निमित्त महानिर्देशक ढकाल भन्छन्, ‘विदेशीलाई पनि सहज हुनेछ भने हाम्रो कर्मचारीको पनि कामको चाप कम हुनेछ ।’
साथै, भिसा नवीकरणका लागि पनि अध्यागमन कार्यालय पुगिरहनु पर्नेछैन । नेपालको जुनसुकै ठाउँबाट अनलाइन भुक्तानी गरेर भिसा अवधि थप गर्न सक्नेछन् । यसले पर्यटकलाई थप सहजता हुने विभागका अधिकारी बताउँछन् ।
इ–भिसाको तयारी भने ०८० फागुनदेखि नै भएको थियो । त्यसवेला विभागले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ र अनलाइन पेमेन्ट प्रणालीको उद्घाटन गराएको थियो, जुन पूर्ण रूपमा लागू हुन सकेको थिएन । प्राविधिक तथा व्यवस्थापिक तयारीपछि यसको पूर्ण कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ ।
धेरै विकसित देशहरूले इ–भिसा प्रणाली लागू गरिसकेका छन् । नेपालले पनि लामो परीक्षणपछि यसलाई कार्यान्वयनमा लैजान लागेको हो । यसका फाइदा भए पनि प्राविधिक रूपमा कतिपय चुनौती भने रहेको विभागका अधिकारी बताउँछन् । याे खबर नयाँ पत्रिकामा छ ।



