सरकारसँग उधाराे सहमतिपछि वैदेशिक रोजगार व्यवसायीकाेआन्दोलन स्थगित
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय र अान्दाेलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएकाे छ । सहमति भएसँगै व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम पनि स्थगित भएका छन्।
वैदेशिक रोजगारीलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रिया छिटो टुंग्याउने सहमति सरकार र व्यवसायीबीच भएको छ। यही सहमतिपछि संघले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।
संघले गत साउन २२ गते १५ बुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेको थियो। आन्दोलनकै कार्यक्रमअन्तर्गत आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन रोक्ने घोषणा व्यवसायीले गरेका थिए।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा मन्त्रालय र व्यवसायीबीच भएको छलफलपछि आन्दोलन रोकिएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए। उनका अनुसार व्यवसायीका माग सम्बोधन गर्न समय लाग्ने भएकाले आन्दोलन स्थगित गरिएको हो। संघले अघि सारेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत विषय भएकाले तिनलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समेट्ने सहमति भएको खत्रीले बताए।
“संघका तर्फबाट प्रस्तुत माग यथावत छन्। तर कतिपय विषय ऐन संशोधनमा समेटिने भएकाले केही समय आन्दोलन स्थगित गर्ने निर्णय गरेका छौँ,” उनले भने।
व्यवसायीका अन्य मागका सम्बन्धमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिए विभागले सहजीकरण गर्ने सहमति भएको छ। विभागबाट समस्या समाधान हुन नसके मन्त्रालयमार्फत त्यसको सम्बोधन गरिने जानकारी व्यवसायीलाई दिइएको छ।
संघले यसअघि आफ्ना माग सम्बोधन नभए गन्तव्य मुलुकमा श्रमिक पठाउने काम रोक्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सरकारसँग भएको सहमतिपछि तत्कालका लागि ती कार्यक्रम रोकिएका छन्।



