एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै १५ बुँदे ‘डब्लिन घोषणापत्र २०२६’ जारी गर्दै समापन भएको छ ।
‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ मूल नाराका साथ आयरल्याण्डको राजधानी डब्लिनमा यही साउन २५ र २६ गते सम्पन्न उक्त सम्मेलनले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ, परिणाममुखी र दीर्घकालीन बनाउने लक्ष्यसहित विभिन्न महत्वपूर्ण विषयमा सङ्कल्प गरेको छ ।
तीसभन्दा बढी देशबाट १५० भन्दा बढी सहभागी प्रत्यक्ष रूपमा तथा भर्चुअल माध्यमसमेतबाट सयौँको सहभागिता रहेको सो सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता तथा कल्याण, युरोपेली लगानी, आर्थिक तथा श्रम कूटनीति, क्षेत्रीय चुनौती र अवसर, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको संलग्नता, डायस्पोराको ज्ञान तथा नवप्रवर्तन, एनआरएनएको रिब्रान्डिङलगायत विषयमा गहन छलफल भएको एनआरएनएले जनाएको छ ।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपाली उत्पादन, पर्यटन, संस्कृति र कलालाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न तथा नेपाली उत्पादनको बजार विस्तार, बजारीकरण र ब्रान्डिङमा डायस्पोराको सञ्जाल, व्यावसायिक पहुँच र अनुभवलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनलाई नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल तथा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले समेत भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो ।
सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, निजी क्षेत्र, एनआरएनए आइसिसी तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधि, उद्यमी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र विभिन्न नेपाली समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।



