जर्मनीकाे विश्वकप यात्रा जारी, कुराकाओमाथी ७ गाेल, जापान र नेदरल्याण्ड बराबरीमा राेकिए

मूलखबर संवाददाता
काठमाडौं, १ असार

चार पटकको विजेता जर्मनीले विश्वकप २०२६ को यात्रा सानदार ढंगले गरेको छ ।  जर्मनीले आइतबार पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओलाई ७–१ गोलले पराजित गरेर जर्मनीले विश्वकप यात्रालाइर् नियमित गरेकाे हाे । २०१४ को विश्वकप जित्दा जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७–१ गोल अन्तरमै पराजित गरेको थियो ।

जर्मनीबाट काई हाभार्ट्जले दुई गोल गरे भने अन्य पाँच फरक खेलाडीले गोल गरे । न्युजिल्यान्ड १९८२ को विश्वकपमा ५–२ ले पराजित भएयता कुराकाओ विश्वकपको आफ्नो पहिलो खेलमा ५ गोल खर्चने पहिलो टोली बनेको छ ।

त्यसैगरी साेमबार विहान सम्पन्न भएकाे अर्काे खेलमा जापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

नेदरल्यान्ड्सले बल अधिक नियन्त्रणमा राखे पनि पहिलो हाफ गोलको खडेरीमा बितेको थियो । भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लियो । रायन ग्राभेनबर्कको लामो क्रसमा उनले गरेको हेड पोष्टको कुना च्याप्दै गोल भएको थियो ।

जापानले ६ मिनेटपछि नै खेल बराबरीमा ल्यायो । ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे । क्रिसिएनसिओ समरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुन: अग्रता दिलाए । यसपटक पनि नेदरल्यान्ड्सबाट ग्राभनेबर्कले नै असिस्ट गरेका थिए ।

तर दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल २–२ को बराबरीमा ल्याएको थियो । नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पटक विश्वकपको फाइनल खेलेको छ, तर कहिल्यै पनि जित्न सकेको छैन भने जापानले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो, त्यसयता टोलीले सबै विश्वकप खेल्दै आएको छ ।