आजबाट शुरू हुँदै फिफा विश्वकप, १६ शहरमा प्रतियोगिता, ४८ टोली सहभागी हुने

मूलखबर संवाददाता
काठमाडौं, २८ जेठ

आजबाट फुटबलको महाकुम्भ विश्वकप शुरू हुँदैछ । अमेरीकामा मध्यराती १२:४५ बजे   मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरू हुनेछ।

यसपटकको उद्घाटन समारोह विश्वकप जस्तै विशेष छ।  पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने छैन। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ। तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्नेछन्।

मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन्। त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ।

३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ।

प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्। जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ।

मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो। किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्। यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।

पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। जतिबेला मात्र २४ टोली थिए। १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए। यसपालि टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ। नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन्।  नेपालमा विश्वकपका सबै खेलहरू हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपबाट प्रत्यक्ष प्रसारण हुनेछन्। यसका लागि निश्चित शूल्क तिर्नु पर्नेछ। खेलको समय: राति १२:४५, १:००, २:०० देखि बिहान ४:४५, ५:४५ र ७:४५ सम्म रहनेछ ।