दरबार हत्याकाण्डको २५ वर्ष : हत्याकाण्डको रहस्य अझै अनुत्तरित

मूलखबर संवाददाता
काठमाडौं, जेठ १९

नेपाल इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते तत्कालीन नारायणहिटी राजदरबारमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, उनकाे पत्नी एश्वर्या सहितकाे वंश विनाश गरिएकाे थियाे ।

घटनापछि गठन गरिएको उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई हत्याकाण्डको मुख्य जिम्मेवार ठहर गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनअनुसार युवराज दीपेन्द्रले स्वचालित हतियार प्रयोग गरी परिवारका सदस्यहरूमाथि गोली चलाएका थिए। घटनामा घाइते भएका दीपेन्द्र केही समय कोमामा रहेपछि निधन भएका थिए।

यद्यपि घटनाको एक चौथाइ शताब्दी बितिसक्दा पनि दरबार हत्याकाण्डबारे स्पष्ट र सत्य तथ्य सार्वजनीक भएकाे छैन । यसबारे विभिन्न प्रश्न, आशंका र बहसहरू उठीरहेका छन् । प्रतिवेदनमाथि प्रश्न उठाउनेहरू अझै पनि घटनाको स्वतन्त्र, निष्पक्ष र विस्तृत अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन्। उनीहरूका अनुसार घटनाका केही पक्षहरू अझै अस्पष्ट रहेको र सार्वजनिक रूपमा उपलब्ध जानकारीले सबै जिज्ञासाको समाधान गर्न नसकेको तर्क गर्दै आएका छन्।

दरबार हत्याकाण्डले नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा गहिरो प्रभाव पारेको थियो। घटनापछि तत्कालीन राजा वीरेन्द्रको निधनसँगै राजसंस्थाप्रतिको जनविश्वासमा नकारात्मक असर परेको थियाे । त्यसपछि नेपालले तीव्र राजनीतिक परिवर्तनको चरण पार गर्दै वि.सं. २०६५ सालमा राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास प्रारम्भ गरेको थियो।

२५ वर्षपछि पनि दरबार हत्याकाण्ड नेपाली समाजका लागि चासो, बहस र अनुसन्धानको विषय बनेको छ। घटनाका पीडादायी सम्झनासँगै सत्यतथ्यको पूर्ण उद्घाटन र ऐतिहासिक तथ्यहरूको स्पष्ट अभिलेखीकरण हुनुपर्ने आवाज विभिन्न क्षेत्रबाट उठ्दै आएको छ।

उनका भाइ ज्ञानेन्द्र र छाेरा पारसलाइ वंश विनासकाे दाेस लगाउने गरिएकाे भएतापनि उनीमाथी कानुनी अनुसन्धान र कार्वाहीकाे कुनै पनि प्रक्रीया अगाडि बढेकाे भने छैन ।

२०५८ जेठ १९ (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या गरिएको घटना थियो। घटना पश्चात् सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या गरेर त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको भनेर प्रचार गरिएको थियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पिएको थियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरिएको थियो।

२०५८ जेठ २२ गते राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरिएको थियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भएका थिए। नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिएका थिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्दै त्यसलाई सार्वजनिक गरेको थियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो।