जेठ महिनामा बैंकहरूकाे ब्याजदर कस्ताे हुनेछ ? हेराैं ।

मूलखबर संवाददाता
काठमाडौं, ३१ बैसाख २०८३

जेठ महिनाका अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार यो महिनामा ६ बैंकले ब्याजदर घटाउँदा २ बैंकले सामान्य बढाएका छन् भने १२ बैंकको ब्याजदर स्थिर रहेको छ ।

प्रकाशित तालिका अनुसार एनएमबि बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले ब्याजदर केही घटाएका छन् ।

एनएमबि बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२ प्रतिशत विन्दुले घटाएको छ । संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ । एनआईसी एसिया बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत विन्दुले घटेको छ। हिमालयन बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले घट्दा संस्थागत स्थिर रहेको छ । नेपाल बैंकको ब्याजदर व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले घटेको छ भने संस्थागततर्फ ब्याजदर स्थिर राखेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत विन्दुले घटाएको छ। कुमारी बैंकको व्यक्तिगततर्फ ०.०९ र संस्थागततर्फ ०.४९ प्रतिशत बिन्दुले ब्याजदर घटेको छ भने सिद्धार्थ बैंक र सिटिजन्स बैंकको व्याजदर भने झिनो बढेको छ । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशत विन्दुले बढाउँदा संस्थागततर्फ स्थिर रहेको छ । सिटिजन्स बैंकको भने संस्थागततर्फ ०.५ प्रतिशत विन्दुले बढाउँदा व्यक्तिगततर्फ ०.०५ प्रतिशत बिन्दुले घटेको छ ।