संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन

मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताएका छन् ।

कानुन दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान केवल कानूनी दस्ताबेज मात्र नभई नागरिकको जीवन पद्धति हुनुपर्नेमा जोड दिएकी हुन् ।

नेपाल प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको स्मरण गर्दै उनले आधुनिक न्याय प्रणालीको जग यसै ऐनले हालेको चर्चा गरिन् ।

संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाउने प्रयासहरू भइरहेको त छैन भन्दै उनले प्रश्न समेत उठाइन् । न्यायलाई स्वार्थको मुकुण्डो बनाउने र विधिको शासनमा छेडखानी गर्ने प्रवृत्तिले लोकतन्त्रलाई धरापमा पार्ने उनको चेतावनी छ ।

उनले भनिन् ‘संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानलाई विरूप पारेर सञ्चालकहरूको रूप सिँगार्न खोज्नु विडम्बनापूर्ण हुन्छ ।’

उनले सबैलाई संविधानवाद र नागरिक हकको संरक्षणका लागि एकजुट हुन अपिल गरिन् ।