हिमालयन रि–इन्स्योरेन्सका चार सञ्चालकले दिए राजीनामा, समिति नै खाली

मूलखबर संवाददाता
काठमाडौं

नेपाल बिमा प्राधिकरणको नियामकीय कारबाहीमा पर्ने भएपछि हिमालयन रि–इन्स्योरेन्सका चार सञ्चालकले राजीनामा गरेका छन् । राजीनामा दिनेमा अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुवास झुनझुनवाला छन् । उनीहरूले राजीनामा गरेको व्यहोरा उल्लेख गरेर प्राधिकरणमा स्पष्टीकरणसमेत बुझाइसकेका छन् ।

पब्लिक कम्पनी हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरेको र विवादास्पद व्यवसायी दीपक भट्टको अनियमिततामा सहयोग गरेको भन्दै प्राधिकरणले निलम्बन गर्ने चेतावनीसहित अघिल्लो मंगलबार सञ्चालक समिति र व्यवस्थापनलाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणको पत्रपछि चार सञ्चालकले राजीनामा गरेका हुन् । कम्पनीको ४ वैशाखमा सम्पन्न सञ्चालक समितिको बैठकले उनीहरूको राजीनामा स्वीकृति गरेको जानकारी मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको छ ।

पछिल्ला दुई विवादले हिमालयन रिको निर्वाचित सञ्चालक समिति नै रित्तिएको छ । कम्पनीका सबै सञ्चालकले राजीनामा दिएका छन् । त्यसपछि आगामी साधारणसभासम्मका लागि नयाँ सञ्चालक नियुक्त गरिएको छ ।

हिल्टन होटेलको पुनर्बिमा दाबी प्रकरणसमेत अनुसन्धानमा पर्ने देखिएपछि कम्पनीका अध्यक्ष शेखर गोल्छाले ८ चैतमा राजीनामा दिएका थिए । त्यस्तै, कम्पनीको रकम दुरुपयोग गरेको विषयमा कारबाहीमा पर्ने देखिएपछि बाँकी ६ जना सञ्चालकले पनि दुई चरणमा राजीनामा दिएका छन् । संस्थापक सेयरधनी साहिल अग्रवाल र रोहित गुप्ताले चैत चौथो साता नै राजीनामा दिएका थिए । त्यसपछि प्राधिकरणले उनीहरूसहित सञ्चालक समितिमा रहेका पुराना चार सदस्यलाई पनि निलम्बन गर्ने चेतावनीसहित स्पष्टीकरण सोध्यो । प्राधिकरणले स्पष्टीकरण सोधेपछि उनीहरूले पनि राजीनामा गरेका  समाचार नयाँ पत्रिकामा छ।