केरामा पनि बिचौलियाकै रजगज, किसानबाट ७० मा किन्ने, बजारमा भने ४ सय रुपैयाँसम्म बेच्ने
किसानले स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँमा बिक्री गरिरहँदा बजारमा भने ४ सय रुपैयाँसम्म पुगेको छ । हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँ मात्र पाइरहेका किसानहरू बजारको मूल्य सुनेर आश्चर्यचकित छन् । उनीहरूले बिचौलियामार्फत बजारमा पठाएको केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
यसको अर्थ किसानले बिक्री गरेको मूल्यभन्दा चारदेखि पाँच गुणासम्म महँगोमा खरिद गर्न उपभोक्ता बाध्य छन् । बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढिरहेको र किसानले भने उत्पादनको उचित मूल्य नपाइरहेको भन्दै नेपाल केरा उत्पादक महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले वर्तमान अवस्थालाई केवल मूल्यवृद्धिको समस्या मात्र नभई कृषि बजार व्यवस्थापन, आपूर्ति प्रणाली, आयात नीति, जैविक सुरक्षा र किसान संरक्षणसँग जोडिएको संरचनागत समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघ अध्यक्ष विष्णुहरि पन्तले किसानले बारीबाट बेच्ने मूल्य र उपभोक्ताले बजारमा तिर्न ुपर्ने मूल्यबीच अत्यधिक अन्तर रहेको तथ्यांक प्रस्तुत गर्दै बिचौलियाले चलखेल गरिरहेको बताए । व्यापारी जसरी पनि भारतीय केरा भित्र्याउनका लागि अहिले कृत्रिम अभाव र मूल्यवृद्धिको नाटक गरिरहेका छन् ।
पहेंलो केरा ‘सुन’जस्तै महँगो
सामान्यतया सर्वसुलभ फलफूल मानिने केरा अहिले धेरै उपभोक्ताका लागि महँगो वस्तु बनेको छ । काठमाडौं उपत्यकालगायत सहरी बजारमा सामान्य आकारको केरा प्रतिदर्जन २२० देखि २५० रुपैयाँसम्म बिक्री भइरहेको छ । ठूलो आकारको केरा भने ३०० देखि ३५० रुपैयाँसम्म पुगेको छ । यसको अर्थ एउटा केराको मूल्य २० देखि ३० रुपैयाँसम्म पुगेको छ । केही महिनाअघि यही मूल्यमा उपभोक्ताले दुई वा तीनवटा केरा किन्न सक्थे । कतिपय उपभोक्ताको भनाइमा अहिले केरा सुन जस्तै दिनप्रतिदिन महँगो हुँदै गएको छ ।
दैनिक गाडी संख्या घट्यो
व्यापारीहरूका अनुसार भारतीय केरा सहजरूपमा भित्रिँदा बजारमा दैनिक १९ देखि २० गाडीसम्म केरा आउने गथ्र्यो । अहिले त्यो संख्या घटेर ५ देखि ६ वटा साना बोलेरो गाडीमा सीमित भएको छ । नेपाल केरा उत्पादक महासंघले भने अहिले पेट्रोलियम पदार्थ महँगो भएका कारण झापा र कैलालीबाट केरा ल्याउन केही महँगो र आपूर्ति संकट भएको हुन सक्ने स्पष्ट पारेको छ । यसले बजारमा केरा उपलब्धता एकाएक कम भएको छ । माग स्थिर रहँदा आपूर्ति घटेपछि मूल्य बढ्नु स्वाभाविक आर्थिक नियम हो । अहिले त्यही अवस्था नेपालमा देखिएको छ, तर किसानले भने उचित मूल्य पाएका छैनन् । थोक व्यापारीहरूका अनुसार मागअनुसार केरा उपलब्ध छैन । केही व्यापारीले दुई–तीन दिन अगाडि नै बुकिङ गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
भारतीय केरा रोकिँदा किसानलाई राहत
भारतीय आयात रोकिएपछि नेपाली किसानले भने केही राहत महसुस गरेका छन् । किसानले अहिले प्रतिकेरा ७ देखि १० रुपैयाँसम्म मूल्य पाएको बताइन्छ । सामान्य समयमा आयातित केरासँग प्रतिस्पर्धा गर्नुपर्दा स्वदेशी किसान कम मूल्यमा बेच्न बाध्य थिए । अब बजारमा विदेशी प्रतिस्पर्धा कम हुँदा किसानले राम्रो मूल्य पाएका छन् । यसले उनीहरूको आम्दानी बढाएको छ र खेतीप्रति उत्साह बढाएको छ । तर यो राहत दीर्घकालीन बन्न सक्ने अवस्था भने छैन । नेपालमा तत्काल ठूलो मात्रामा उत्पादन बढाउन सम्भव छैन । राजधानीमा खबर छ ।





