विश्वविद्यालय तथा प्रतिष्ठान उपकुलपतिहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने
प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । यो बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उनको सचिवालयले जनाएको छ ।
जस अनुसार प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ। बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने र यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुने प्रेस सल्लाहकार दिपा दाहालले बताएकी छिन् ।
बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनुहुनेछ। त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुने बताइएको छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुने दाहालले बताइन् ।
साथै बैठकमा कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू पनि प्रधानमन्त्री शाहले संवाद गर्नेछन् ।
त्यसैगरी शाहले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफल गर्नेछन् ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने
बताइएको छ ।





