पहिलो महाधिवेशन भदौमा गर्ने तयारीमा रास्वपा
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी भदौमा गर्ने तयारी गरेको छ। आज बसेकाे सचिवालय बैठकमा महाधिवेशनबारे निर्णय गर्ने बताइएको छ । यसका लागि आज ३ बजे बस्ने सचिवालय बैठकले कार्यविधि तय गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार गत पुसमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन सकिएको ६ महिनाभित्र पहिलो महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।
उनलेे यसमा वडा, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका कमिटीहरूको अधिवेशन, प्रतिनिधि चयन लगायत विषय समेटिने बताए ।
रास्वपाले स्थापनाको एक वर्षदेखि नै महाधिवेशनको तयारी गरेको थियो। त्यसबीच सभापति रवि लामिछानेमाथि सहकारीको बचत ठगी लगायत प्रकरणका कारण महाधिवेशन प्रभावित बनेको थियो।
पछिल्लो पटक फागुन ७, ८, ९ गतेलाई महाधिवेशनको मिति तोकिएको थियो। तर फागुन २१ गते चुनाव हुने भएपछि पुसमा बसेको बैठकले महाधिवेशनको मिति संशोधन गर्दै निर्वाचन सकिएको ६ महिनाभित्र गरिसक्ने निर्णय गरेको थियो।





