पाटनमा छुरा प्रहारबाट दुई युवकको हत्या, फाेनकाे विवादले लियाे ज्यान

मूलखबर संवाददाता
पाटन, २६ चैत

बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो ।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो ।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ ।

हत्यामा संलग्नलाइ नियन्त्रणमा लिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सिर्जनले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो।

त्यही विषयमा उनीहरूबीच फोनमा भनाभन भयो। भेटेरै कुरा गर्ने भन्दै उनीहरू बुधबार दिउँसो ४ बजेतिर पाटन दरबारमा जम्मा भएका थिए, जहाँ विवाद बढेपछि सञ्जीवले छुरा प्रहार गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ ।