अफगानिस्तानकाे काबुलमा गैरसैनिक क्षेत्रमा हवाई आक्रमण, ४ सय बढीको मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, ३ चैत

अफगानिस्तानको राजधानी काबुलमा लागुपदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा हवाई आक्रमण हुँदा दर्जनौँ मानिस हताहत भएको तालिबान सरकारले जनाएको छ। अफगानी पक्षले उक्त हमला पाकिस्तानबाट भएको दाबी गरेको छ।

तालिबान सरकारका एक प्रवक्ताले एक्समा बताएअनुसार सोमवार साँझ काबुलस्थित उक्त केन्द्रमा घातक हमला भएको उल्लेख गरेका छन्।

पाकिस्तानले स्वास्थ्यसेवा प्रदान गर्ने कुनै पनि ठाउँमा आक्रमण नगरिएको भन्दै आफूले “सैन्यस्थल र आतङ्कवादलाई सहयोग पुर्‍याउने संरचनालाई मात्र निसाना बनाएको” दाबी गरेको छ।

अफगान अधिकारीहरूले उक्त पुनर्स्थापना केन्द्रनजिकै कुनै पनि सैन्य संरचना नरहेको बताएका छन् । अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमर्खैलले बताए अनुसार साे आक्रमण गैरसैनिक क्षेत्रमा भएको हाे ।

स्थानीय बासिन्दाहरूका अनुसार सोमवार राति ८ः५० बजेतिर काबुलमा ठूलो विस्फोटन भएको थियो अनि त्यसपछि विमान र हवाई प्रतिरक्षा प्रणालीको आवाज सुनिएको बीबीसीले जनाएको छ ।

तालिबान सरकारका प्रवक्ताले कम्तीमा ४०० जनाको मृत्यु भएको दाबी गरेका छन्। पाकिस्तानले भने अफगानिस्तानकाे दावी सहि नभएको बताएको छ ।