पेट्रोलमा प्रतिलिटर १५, डिजेलमा १० रूपयाँ बृद्वि

मूलखबर संवाददाता
काठमाडौं, २ चैत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य लिटरमा १५७ र डिजेलको १४२ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको निगमले जनाएको छ । यद्यपि कर्पोरेशनले पठाएको दर कायम नगरी बिक्री गर्दा केहि रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी मूल्य तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण मूल्य कम हुनासाथ तत्काल मूल्य घटाउने रणनीति लिनेसमेत निगमले जनाएको छ । हालको मूल्य वृद्धिपश्चात पनि निगमलाई १५ दिनमा ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुनेसमेत निगमले जनाएको छ ।