सुर्खेतमा इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि, ४ जना पक्राउ, कडा कार्वाही गर्न माग

मूलखबर संवाददाता
काठमाडौं, २८ फागुन

सुर्खेतमा वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो । घटनामा संलग्न भएको अभियाेगमा ४ जना युवा पक्राउ परेका छन् । पक्राउ परेका चारैजना सबै १८ मुनिका रहेका छन ।

उक्त घटनाको निष्पक्ष छानबिन गर्न र हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै देशैभर उनको पक्षमा चर्को आवाज उठेको छ । बुधबार दिनभर पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराए । जिल्लाका अधिकारवादी संसंस्थाले यस घटनामा चासो देखाएका छन् । उनीहरूले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संघीय राजधानी काठमाडौंको माइतीघरमा पनि बुधवार दिउँसो दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै अधिकारकर्मी तथा युवाहरूले खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि उनीहरूले खबरदारीसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषणविरुद्ध एक हौं,’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अब दलितहरूको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड समेत दिएका छन् ।

उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ ।

पाेष्टमार्टम रिपोर्टमा के छ ?

कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ ।

जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा. शाक्यले जानकारी दिए ।

‘पोस्टमार्टम रिर्पोटमा संवेदनशील अंग च्यातिएपछि अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिन्छ,’ उनले भने ।

पाठेघरसम्म घाउको धब्बा देखिएको डा. शाक्यले बताए । ‘पीडितको संवेदनशील अंग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको छ’ डा. शाक्यले भने ।