काठमाडौंमा बढ्दै वायु प्रदुषण, २०० नाघ्याे इन्डेक्स, सावधानी अपनाउन आग्रह
काठमाडौं उपत्यकाको वायुमण्डलमा धुलोधुवाँका कण तैरिएर बस्दा वायु प्रदूषणको मात्रा खराब स्थितिमा पुगेको छ ।
एक सातायता प्रदूषणको मात्रा बढ्दै गएकोमा मंगलबार एयर क्वालिटी इन्डेक्स (वायुको गुणस्तरको मात्रा) २०० नाघेको छ । यो स्तरको प्रदूषणले संवेदनशील समूहअन्तर्गत बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका रोगीहरूलाई तुरुन्त असर गर्छ । उच्च प्रदूषणको असरबाट जोगिन घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउन वातावरण विभागले अनुरोध गरेको छ ।
वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले चुनावअघि (२१ फागुन)बाटै काठामाडौंकोे आकाश बादलले ढाक्दै आए पनि हावा र पानी पर्न नसक्दा धुलोधुवाँ तल्लो वायुमण्डलमा थिग्रिएर बसेको बताए । ‘बादल मात्र लागिरहेको छ, पानी परेको छैन, न हावा चल्न सकेको छ । बादल र तुवाँलोले वायुमण्डल ढाकेर माथिबाट ढकनीको काम गर्यो । उत्सर्जन भइरहेको धुलोधुवाँ माथि पनि जान पाएन, उपत्यकाबाहिर पनि निस्कन पाएन,’ लामिछानले भने, ‘उपत्यकाबाहिरबाट पनि धुलोधुवाँ आइरहेको छ । तर, यहाँ प्रदूषण बढ्नुको मुख्य कारण मौसम नै हो ।’
काठमाडौंमा पछिल्लोपटक फागुन दोस्रो साता पानी परेको थियो । सोमबार काठमाडौंका केही ठाउँमा छिटफुट मात्र पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले लामो समयको खडेरीका कारण धुलो उत्सर्जन बढिरहेका वेला बादल मात्र मडारिरहँदा प्रदूषण बढेको बताए । ‘हावा चलेको छैन, पानी पनि परेको छैन । उच्च चापीय प्रणाली मजबुत देखिन्छ,’ उनले भने । उपत्यकाबाहिरका सहरमा पनि वायु प्रदूषण बढिरहेको छ ।
काठमाडौं मंगलबार विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा रह्यो । काठमाडौंको वायु प्रदूषणको मात्रा (एयर क्वालिटी इन्डेक्स) १७४ देखि २०६ पुगेको थियो । काठमाडौंभन्दा प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका (पहिलो) र चीनको बेइजिङ (दोस्रो) रहे ।
वातावरण विभागको भैँसेपाटीस्थित प्रदूषण मापन केन्द्रमा एयर क्वालिटी इन्डेक्स मंगलबार साँझ ७:४५ बजे १७९ पुगेको छ, जुन जनस्वास्थ्यका लागि हानिकारक हो । उपत्यकासहित देशका अन्य स्थानको वायु गुणस्तर पनि जनस्वास्थ्यका लागि हानिकारक अवस्थामै छ । एक्युआईको मात्रा शंखपार्क र इलाममा १७०/१७०, सुर्खेतमा १६७, रत्नपार्कमा १६२ र कीर्तिपुरमा १५९ थियो ।
एक्युआईको मात्रा १५१ देखि २०० हुँदा सबै उमेर समूहका व्यक्तिलाई खुला ठाउँमा लामो समयसम्म नबस्न भनिन्छ भने २०० नाघ्नुलाई एकदम अस्वस्थकर मानिन्छ । १०१–१५० सम्म हुनुलाई संवेदनशील प्रकृति भएका (मुटु र फोक्सोसम्बन्धी समस्या भएका, वृद्धवृद्धा र बालबालिका)लाई खोकी लाग्ने वा श्वास फेर्न समस्या हुने गर्छ । ० देखि ५० सम्मको मानलाई भने सामान्य मानिन्छ ।
पिएम २.५ र पिएम १० को तथ्यांकलाई एक्युआई भ्यालुमा परिवर्तन गरी कलर कोड गरेर राखिन्छ । एक्युआई भ्यालु ३ देखि १२ घन्टाको दौरानमा हावामा प्रदूषणको कणको घनत्व फरक भएका वेला मापन हुन्छ भने पिएम २.५ को मात्रा हरेक घन्टा र २४ घन्टामा निकालिन्छ । तर, प्रदूषणको मात्राको औसत मापदण्ड भने २४ घन्टालाई आधार मानेर तय गरिन्छ । यो सूचकांक हावामा रौँभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पिएम २.५) मा मापन गर्दा नेपालमा २४ घन्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर बढ्दा अस्वस्थकर मानिन्छ ।




