लमजुङका नेकपा उम्मेदवार हरिजङ तामाङ मत माग्दै दोर्दीका बस्तीमा

मूलखबर संवाददाता
लमजुङ, १६ फागुन

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिजङ तामाङले दोर्दी गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम तीव्र बनाएका छन्।

दोर्दी गाउँपालिकाका वडा नं ९ र ८ का ग्रामीण बस्तीमा पुगेका तामाङले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, रोजगारी र आधारभूत सेवाको सुनिश्चितता आफ्नो मुख्य एजेन्डा रहेको बताए। उनले विशेषगरी खानेपानी, सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण र युवाका लागि रोजगारी सिर्जना प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा तामाङलाई स्थानीय पार्टी कार्यकर्ता तथा समर्थकहरूले स्वागत गरेका थिए। कार्यक्रममा सहभागी महिलाहरू, ज्येष्ठ नागरिक र युवासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको सुझावलाई आफ्नो कार्ययोजनामा समेट्ने बताएका छन्। “राजनीति केवल आश्वासनका लागि होइन, परिणाम दिनका लागि हुनुपर्छ,” तामाङले भने, “दोर्दीको समग्र विकासका लागि तपाईंहरूको साथ आवश्यक छ।”

सो अवसरमा निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपाकी केन्द्रीय सदस्य उर्मिला माझी, केन्द्रीय सदस्य राजु कार्कीलगायत नेता तथा कार्यकर्ताहरूको समेत सहभागिता रहेको छ। नेताहरूले दोर्दी क्षेत्रको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

स्थानीय मतदाताले आधारभूत पूर्वाधार र कृषि क्षेत्रमा दीर्घकालीन योजना ल्याउन आग्रह गरेका छन्। केही युवाहरूले वैदेशिक रोजगारीको विकल्पस्वरूप जिल्लामै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे।

निर्वाचन नजिकिँदै जाँदा दोर्दी क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरू सक्रिय बनेका छन्। तामाङले भने आफ्नो अभियान सकारात्मक एजेन्डा र जनतासँगको प्रत्यक्ष संवादमा केन्द्रित रहने स्पष्ट पारेका छन्।