काठमाडौँ १० : किर्तिपुरलाई आइटी हब बनाउने महर्जनको घोषणा
नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. १० कि उम्मेदवार रूपा महर्जन(श्रेष्ठ)ले किर्तिपुरलाई आईटी हबको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले आफु निर्वाचित भएमा किर्तिपुरलाई आइटी हबको रुपमा विकास गर्दै रोजगारीको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले सामुदायिक विद्यालय तथा कलेजहरूको स्तरोन्नति गर्ने, हात्तीवन–चम्पादेवी–चन्द्रागिरि पैदल मार्गको स्तरोन्नति गर्ने, चन्द्रागिरी–कीर्तिपुर–दक्षिणकाली सडक विकास गरी सार्वजनिक यातायात सञ्चालन गर्ने र कीर्तिपुर–मकवानपुर जोड्ने सडक विस्तार गर्ने पनि उनको प्रतिबद्धता छ ।
उनले चम्पादेवीस्थित जातीय संग्रहालयलाई मूर्त रुप दिने, खेलकुद प्रशिक्षणको हबको रूपमा विकास गर्ने, जनआन्दोलन, जनयुद्ध र जेन्जी आन्दोलनको अध्ययन, अनुसन्धान र स्मृति स्थलका रूपमा मसिनको शान्तिपार्कलाई विकास गर्ने र विभिन्न पार्क तथा खेलमैदानको स्तरोन्नति गर्ने पनि उनको घोषणा छ ।
काठमाडौं दक्षिण–पश्चिम भेग (दक्षिणकाली–कीर्तिपुर–चन्द्रागिरी नगरपलिका क्षेत्र) को आर्थिक, सामाजिक, सास्कृतिक क्रियाकलापको समन्वय गर्ने, सो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकास गर्न केन्द्रीय बजेट सुनिश्चित गर्न पहल गर्ने पनि उनको भनाई छ । उनले क्षेत्र नं. १० मा जलाधार क्षेत्रको संरक्षण गर्दै खानेपानीको उचित व्यवस्थापन गर्ने पनि प्रतिबद्धता गरेकी छन् ।




