दुबै खालकाे अतिवादले जितेमा देशले दुख पाउन सक्छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा निहत्था विद्यार्थीकाे हत्या गर्ने र देशमा विध्वंस गर्ने दुबै खालका अतिवादले जितेमा देशले फेरि दुःख पाउन सक्ने बताउनुभएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा आयाेजित पत्रकार सम्मेलनमा संयाेजक प्रचण्डले भन्नुभयाे- हामी दुबै अतिवादबाट देशलाई बचाएर अगाडि बढाउन चाहन्छाैं ।

उहाँले फागुन २१ गते निर्वाचन हुने स्पष्ट पार्दै हुँदैन कि भन्ने कुनै आशंका नगर्न पनि अपिल गर्नुभयाे र कार्यकर्तालाई ढुक्कसँग चुनावमा परिचालित हुनकाे लागि निर्देशन समेत दिनुभयाे ।

उहाँले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने र त्यसकाे लागि सेना, प्रहरी र म्यादी प्रहरी र कर्मचारीलाई अपिल पनि गर्नुभयाे ।

उहाँले निर्वाचन धाँधलीरहित भएमा आउने जस्तोसुकै परिणाम पनि स्वीकार गर्ने बताउनुभयो ।

त्यसैगरी उहाँले आफ्नो पार्टीमा कुनै विवाद नभएको र एकढिक्का भएर निर्वाचनमा हाेमिएकाे बताउँदै राम्रोसँग लागेमा राम्रै परिणाम आउने दावी गर्नुभयाे ।

निर्वाचनमा कुनै पनि दलकाे एक्लै बहुमत नआउने ठाेकुवा गर्दै प्रचण्डले अब पनि त्रिशंकु संसद नै हुने दावी गर्नुभयाे ।

नेपाली कम्युनिस्ट पार्टीको पत्रकार सम्मेलनमा संयाेजक पुष्पकमल दाहाल प्रचण्डकाे सम्वाेधनकाे मुख्य बुँदाहरू ।।

– निर्वाचन हुन्छ , अब कुनै आशंका छैन ।
– दुबै खालकाे अतिवादले जितेमा देशले दुख पाउन सक्छ
– निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छ, त्यसकाे लागि सेना, प्रहरी र म्यादी प्रहरी र कर्मचारीलाई अपिल गर्दछु ।
– कुनै पनि परिणाम स्वीकार गर्न हामी तयार छाै र सबै हुनुपर्छ ।
– कुनै एक पार्टीको बहुमत आउँदैन, त्रिशंकु संसद हुन्छ ।
– निर्वाचन पछि संविधान कार्यन्वयनमा सहमति सबै बीच हुनुपर्छ ।
– नेपाली कम्युनिस्ट पार्टीको पक्षमा देशभर उत्साह देखिएकाे छ ।
– पार्टी एकताबद्व भएको छ, परिचालित भएको छ ।
– चार पक्षकाे बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ ।
– एक हप्ता अलि मेहनत गर्दा हामी पहिलाे हुने सम्भावना छ ।
– नेपाली कम्युनिस्ट पार्टीमा कुनै समस्या छैन ।
– हामीले जित्दामात्रै राष्ट्रिय एकता, स्वाधिनताकाे रक्षा र संविधानकाे कार्यन्वयन र सुशाशन कायम हुन्छ ।
– कृषि, उद्योग, उत्पादन र उत्पादकत्व वृद्वि गर्ने र राेजगारी सृष्टि गर्ने र भ्रष्टाचार काे अन्त्य र सुशासन कायम गर्ने कुरामा प्रतिवत्द्वता छ ।
– परिणाम जे आए पनि हामी स्वीकार गर्छाैं ।