महाशिवरात्रीमा आठ लाखले पशुपतिनाथको दर्शन गर्ने आकलन, यस्ताे छ तयारी

मूलखबर संवाददाता
काठमाडौं, १ फागुन

महाशिवरात्रिका दिन आइतबार आठ लाखले पशुपतिनाथको दर्शन गर्ने आकलन गरिएको छ । महाशिवरात्रिको दिनमा साढे चार हजार साधुसन्त र साढे दुई सय नागाबाबा आउने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवास जोशीले बताए । यसपटक अघिल्लो वर्षभन्दा धेरै दर्शनार्थी आउने आकलन रहेको र सोहीअनुसार तयारी थालिएको छ ।

जोशीका अनुसार भक्तजन एवं तीर्थयात्री तथा पर्यटकका लागि सुरक्षा, स्वयंसेवक, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, मनोरञ्जनात्मक धार्मिक भजनकीर्तन, नागाबाबाहरूका लागि धुनीको व्यवस्था, शिवरात्रि पर्व सम्पन्न भएपछि बाबाजीहरूको बिदाइ कार्यक्रम तयारी भएको बताए । कोषले मन्दिर दर्शनमा पुग्ने भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नजान अनुरोध गरेको छ । कोषले यसपटक पनि मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको जनाएको छ । त्यस्तै, भक्तजनको सहजताका लागि नेपाल प्रहरीको सहायतामा खोजखबर कक्ष राखिनेछ । नेपाल प्रहरीले तीन सयभन्दा बढी सुरक्षाकर्मी सादा पोसाकमा समेत खटाउनेछ ।

‘पशुपति क्षेत्रभित्र गाँजा, मदिरा निषेध छ, गाँजा, भाङजस्ता लागुपदार्थ नियन्त्रणका लागि स्थलगत रूपमै नियन्त्रणको कार्यलाई नियमित गरी प्रभावकारी रूपमा नियन्त्रण गर्ने व्यवस्था मिलाइन्छ,’ जोशीले भने, ‘तिलगंगा क्षेत्रमा तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी)हरूका सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ ।’ कोषका अनुसार १० वटा उपसमितिसमेत गठन गरेर शिवरात्रिलाई व्यवस्थित पारिँदै छ ।

 

हाल पशुपति क्षेत्रमा रंगरोगन, मर्मतसम्भारका कामहरू भइरहेका छन् । शिवरात्रिका लागि साधुसन्त आउने क्रम सुरु भएको छ । वनकाली क्षेत्रमा साधुसन्त बस्न थालिसकेका छन् । नागाबाबा शुक्रबार र शनिबार आउने कोषले जनाएको छ । महाशिवरात्रिमा भक्तजनको अत्यधिक चाप हुने भएकाले चारवटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ । शिवरात्रिको दिन ३ फागुनमा बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका ढोका दर्शनका लागि खुला गरिनेछ ।