निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध

मूलखबर संवाददाता
काठमाडौं, २४ माघ

सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए ।

उनले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि जानकारी दिए । उनले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए ।