काठमाडौँ ४ मा २८ जना उम्मेदवार, दुई जना मात्र महिला, कसले मार्ला बाजी ?

मूलखबर संवाददाता
काठमाडौं, २२ माघ

विगतदेखि नै राजनीतिक चर्चाकै केन्द्रमा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं ४ काठमाडौँ महानगरपालिकाका चार वटा र बूढानीलकण्ठ नगरपालिकाको १२ वटा वडा समेटिएको छ । यस क्षेत्रमा अन्य क्षेत्रमा झैँ पुराना, नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच यस क्षेत्रमा हुने प्रतिस्पर्धा बहुआयामिक देखिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट १८ राजनीतिक दल र १० स्वतन्त्र गरी २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । गत दुई निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापाले विजय हासिल गरेको यो क्षेत्र यसपटक उहाँले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएकाले पनि चर्चाकै केन्द्रमा रहेको हो ।

त्यसो त परम्परागत ठूला दलकैबीचमा आफ्नै खालको प्रतिस्पर्धा छँदैछ । यस क्षेत्रमा यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत निर्वाचनका प्रत्यासी डा राजन भट्टराईलाई नै उम्मेदवार खडा गरेको छ, भने नेपाली कांग्रेसले सभापति थापाको बिँडो थमाउने सोचका साथ नयाँ उम्मेदवार सचिन तिमल्सेनालाई उठाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई टिकट दिएको छ । उहाँ यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ र १ बाट चुनाव लड्नुभएको थियो ।

त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका इन्द्रकुमार भुसाल युवा उमेदवारकाे रूपमा मतदाताकाे अत्याधिक अाकर्षणकाे केन्द्र बनेका छन् । उनी त्यसै क्षेत्रमा २५ वर्षदेखी बसेकाे र पशुपति बहुमुखी क्याम्पसमा स्ववियुकाे उपाध्यक्षा भएर काम गरेकाे अनुभव छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डा सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, मङ्गोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, मितेरी पार्टी नेपालका प्रेमकुमार राई, नेपालका लागि नेपाली पार्टीका श्यामकुमार भट्टराई खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीका दत्त बुढा, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टीका मुस्कान पौडेल, जय मातृभूमि पार्टीका राजन पुरी, श्रम संस्कृति पार्टीका बरुण अमात्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का करिष्मा खरेल, उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह) केम्शसिंह उम्मेदवार हुनुहुन्छ ।

यस्तै, स्वतन्त्रबाट मदनदेव आचार्य, पुजन गजुरेल, अर्चनशमशेर राणा, विनोदबाबु प्रधान, डा दीपेन्द्रकुमार काफ्ले, केदारबहादुर कार्की, मनोज अधिकारी, आशिष श्रेष्ठ, सञ्जीव दर्जी, देवराज पौडेल उम्मेदवार रहनुभएको छ । यहाँ कूल उम्मेदवारमध्ये दुई जना मात्र महिला रहेका छन् ।