राजनीतिक दल र उमेदवारले अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्ने कसरी ?

मूलखबर संवाददाता
काठमाडौं, २० माघ

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल वा उमेदवारले अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले बताएको छ । यसका लागि आयोगले केही सर्त भने राखेको छ ।

दल तथा उमेदवारले अनलाइन सञ्चार माध्यममा निर्वाचन प्रचारप्रसार सम्बन्धी एक मिनेटसम्मको श्रव्य दृश्य सामग्री प्रसारण गराउन सक्नेछन् ।

विज्ञापनका स्वरुपहरू रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउन सक्ने आयोगले प्रष्ट पारेको छ ।

यसरी विज्ञापन गर्दा त्यस्तो दल वा उमेदवारले सःशुल्क विज्ञापन भनेर खुलाउनु पर्नेछ ।

निर्वाचन प्रचारप्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश गर्न नहुने आयोगले प्रष्ट पारेको छ ।

निर्वाचन प्रचारप्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुन बमोजिम निर्वाचन खर्चको विवरणमा समावेश गर्नुपर्नेछ ।

विज्ञापन गरिएको अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएको हुनुपर्ने आयोगले बताएको छ ।