निर्वाचन आयाेगले हटायाे समानुपातिक बन्द सुचीका ७६ जनाकाे नाम

मूलखबर संवाददाता
काठमाडौं, १९ माघ

निर्वाचन आयोगले फागुन २१ गते हुन लागेकाे समानुपातिक उमेदवारको बन्दसूचीबाट ७६ जनाकाे नाम हटाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी गराएका छन् ।

जस अनुसार, कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेस भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको हो ।

सम्बन्धित राजनीतिक दलबाट नाम हटाउन लेखि आएका १० र एकभन्दा बढी कारण भएका दुईजनाको नाम हटाएको आयोगले जानकारी दिएको छ ।