मेरो र युवाको माग समान छ, म पुराना अरू नेताकाे भिडमा छैन: प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १८ माघ

पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौं सहिदको सपना पूरा गर्न आफूले संघर्ष गरिरहेको बताएका हुन्।

‘धेरैलाई लाग्न सक्छ- म र मजस्ता पुराना नेताहरू एउटै हुन्। तर म आज भन्न चाहन्छु- म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु र यो प्रमाणित गरेर छाड्नेछु,’ संयोजक प्रचण्डले भनेका छन्, ‘ मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’

उनले एउटा मानिसले आफ्नो जीवनमा जे-जति गुमाउन सक्छ ती सबै गुमाएको पनि उल्लेख गरेका छन्। ‘तर यो संघर्ष व्यक्तिगत होइन, हजारौं सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भने, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्ने मलाई थाहा छ। परिवर्तन अनिवार्य छ र भएर छाड्नेछ।’

युवाहरूले उठाउँदै आएको भ्रष्टाचार अन्त्य, पारदर्शीता र बलियो सरकारका विषय आफूले ‘जनयुद्ध’देखि उठाएको पनि प्रचण्डको भनाइ छ।

मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि अहिलेको व्यवस्थाभन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उत्तम हुने दाबी उनको छ।

‘मेरो र युवाको माग समान छ। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ। खलनायक बनेर इतिहास पानामा म हराउन चाहन्न। देशलाई सहि दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन,’ उनले भने।