फेरि वर्षा गराउने प्रणाली सक्रिय, तीन प्रदेशमा हुनेछ वर्षा

मूलखबर संवाददाता
काठमाडौं, १९ माघ

जल तथा मौसम विज्ञान विभागले फेरि वर्षा गराउने प्रणाली सक्रिय भएको बताएको छ ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम, लुम्बिनी र गण्डकीसँगै कर्णालीमा वर्षाको सम्भावना छ ।

त्यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । त्यसपूर्वका हिमाली भूभागका केही ठाउँमा भने हल्का हिमपात हुने देखिन्छ ।

सोमबार पनि तराईमा हुस्सुको सम्भावना रहेको विभागले जनाएको छ । हिमाली क्षेत्रमा बादलसँगै एक–दुई ठाउँमा हिमपातको आकलन छ । सोमबार राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना छ ।

प्रणाली अघिल्लो हप्ताभन्दा कमजोर छ । त्यही भएर अघिल्लो हप्ताजस्तो धेरै हिमापत र वर्षा हुने देखिँदैन,’ पौडेलले भने, ‘बुधबारदेखि मौसम सफा हुने देखिन्छ ।’ अघिल्लो साता देशका धेरै ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । त्यसयता तराईमा बिहानपख हुस्सु, कुहिरो लाग्ने गरेको छ ।