लमजुङमा दलहरू पालिकास्तरिय अभियानमा, नेकपा उत्साही, एमाले दबाबमा, अरूकाे कस्ताे ?

मूलखबर संवाददाता
लमजुङ , १८ माघ

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लमजुङमा राजनीतिक दलहरूको गतिविधि तिब्र बन्दै गएको छ । जिल्लामा क्रियाशील मुख्य राजनीतिक दलहरूले जिल्ला कमिटीका बैठक सम्पन्न गरेपछि पालिकास्तरमा संगठन विस्तार, चुनावी भेला तथा जनसम्पर्क अभियानलाई तीव्र बनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारसहित पालिकास्तरिय भेला तथा बैठकहरू सञ्चालन गरिरहेका छन् । दलहरूले आ–आफ्नो पक्षमा मतदाता आकर्षित गर्न संगठन परिचालन, कार्यकर्ता प्रशिक्षण र घरदैलो अभियानलाई समेत प्राथमिकता दिएका छन् ।

पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा

यसअघिको निर्वाचनमा विजयी भएको नेकपा एमालेले पुरानै उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई दोहोर्याउँदै चुनावी मैदानमा उतारेको छ । नेपाली कांग्रेसले भने नयाँ उम्मेदवार गमप्रसाद गुरुङलाई अघि सारेको छ ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ३४ वर्षीय युवा उम्मेदवार हरिजङ तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि पनि उम्मेदवार रहेका धर्म केसीलाई पुनः उम्मेदवार बनाएको छ । यसले लमजुङमा अनुभव र युवा नेतृत्वबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको देखिन्छ ।

पालिकास्तरमा संगठन सुदृढीकरण

नेपाली कम्युनिस्ट पार्टीले दोर्दी गाउँपालिका, राइनास नगरपालिका, बेसिशहर नगरपालिका, दुधपोखरी गाउँपालिका, मर्स्याङदी गाउँपालिका र सुन्दरबजार नगरपालिकामा नगर तथा गाउँस्तरिय बैठक तथा भेला सम्पन्न गरिसकेको जिल्ला इन्चार्ज पारसमणी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी मध्यनेपाल नगरपालिका र कोलासोथर गाउँपालिकामा छिट्टै बैठक गर्ने तयारी भइरहेको छ ।
त्यसैगरी नेकपा एमालेले पनि दोर्दी र दुधपोखरी गाउँपालिकामा पालिकास्तरिय भेला सम्पन्न गरेको जनाएको छ । नेपाली कांग्रेसले दुधपोखरी गाउँपालिकामा भेला सम्पन्न गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोही पालिकामा संगठनात्मक भेला सम्पन्न गरेको जनाएको छ ।

निर्वाचन संयन्त्र गठनमा नेकपा सक्रिय

नेपाली कम्युनिस्ट पार्टीले पालिकास्तरमा निर्वाचन परिचालन कमिटी, अनुगमन समिति, प्रचार समिति, आर्थिक समिति र स्वयंसेवक समिति गठन गरिसकेको जनाएको छ । पार्टीले जनतासँग प्रत्यक्ष संवाद, विगतका उपलब्धि र आगामी योजनालाई मुख्य एजेन्डा बनाएर प्रचार गरिरहेको बताइएको छ ।

दुधपोखरीमा दलहरूबीच कडा प्रतिस्पर्धा

दुधपोखरी गाउँपालिकामा सबै प्रमुख दलहरूले पालिकास्तरिय भेला सम्पन्न गरेपछि मतदाता आकर्षणको होड देखिएको छ । तर स्थानीय मतदातामा मुख्य रूपमा पुरानै दलहरूमध्ये नेकपा माओवादी केन्द्र समावेश भएर बनेको नेपाली कम्युनिस्ट पार्टीप्रति आशा र अपेक्षा बढी देखिएको स्थानीयहरू बताउँछन् ।
दुधपोखरीमा भएका विकास पूर्वाधार, सडक, खानेपानी र अन्य सेवा सुविधाको विस्तारमा नेकपाले मुख्य भूमिका खेलेको अनुभूति मतदातामा रहेकाले पार्टीप्रति आकर्षण देखिएको जनाइएको छ ।

युवामा रास्वपातर्फ चासाे, पुराना दलमा तरलता
युवा मतदातामाझ राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्न थालेको देखिन्छ । परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको अपेक्षा राख्ने युवाहरू रास्वपाको गतिविधिलाई चासोका साथ हेरिरहेका छन् ।

यद्यपि नेपाली कांग्रेस र नेकपा एमालेका परम्परागत मतदातामा भने तिब्र तरलता देखिएको छ । केही मतदाता अझै निर्णयविहीन अवस्थामा रहेका छन् भने केही मतदाता दल परिवर्तनको मनस्थितिमा रहेको स्थानीय विश्लेषकहरूको भनाइ छ ।

मतदान चुनौतीपूर्ण हुने संकेत

लमजुङ भौगोलिक रूपमा बिकट जिल्ला भएकाले मतदान व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । अधिकांश घरपरिवारका सदस्यहरू रोजगारीका लागि काठमाडौं, चितवन, पोखरा लगायतका सहर तथा विदेशमा रहेकाले उनीहरूलाई मतदानका लागि घर फर्काउने कुरा मुख्य चुनौतीका रूपमा देखिएको छ ।

दलहरूले मतदाता घर फर्काउन समन्वय, अपिल र आन्तरिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

घट्दो साखको दबाबमा एमाले, पृथ्वीसुब्बाप्रति अरूची

यस निर्वाचनमा नेकपा एमाले आफ्नो घट्दो जनाधार र साख जोगाउने दबाबमा देखिएको छ । विगतको निर्वाचनमा बलियो उपस्थिति जनाएको एमालेले यसपटक प्रतिस्पर्धी दलहरूको आक्रामक अभियानका कारण कडा चुनौती सामना गरिरहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । विशेष गरेर लमजुङमा २०४३ सालदेखी निर्वाचन लडिरहेका र पछिल्लोपटक जेनजी आन्दोलनको कारक बनेका तत्कालीन  सञ्चारमन्त्री पृथ्वीसुब्बाकाे भुमिकाप्रति जनतामा नकारात्मक धारणा देखिएकाे छ ।

सबैभन्दा बढि आकर्षण सबैभन्दा कान्छा उमेदवार तामाङमा

उमेदवारमध्ये सबैभन्दा बढि आकर्षण सबैभन्दा कान्छा उमेदवार नेकपाका हरिजङ तामाङप्रति देखिएकाे छ । त्यसपछि रास्वपाका उमेदवार धर्म केसीप्रति चासाे देखिएकाे छ भने कांग्रेस उमेदवार गमप्रसाद गुरूङप्रति कांग्रेस समर्थक बाहेक अन्यकाे चासाे देखिएकाे छैन ।

समग्रमा लमजुङको चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । दलहरूको गतिविधि, उम्मेदवारको प्रोफाइल र मतदाताको मनोविज्ञानले निर्वाचन परिणाम कतातर्फ मोडिने हो भन्ने चासो बढ्दै गएको छ ।